काठमाडौं– लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को प्रहरी टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। अपहरण र हत्यामा जेल बसेर निस्केकादेखि इन्जिनियरसम्म लागुऔषधसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा ललितपुरको सैंबुका ३८ वर्षीय कानबिन श्रेष्ठ, सुनसरीको धरान घर भएका ४३ वर्षीय ध्रुब लिम्बू र पर्साको बिन्दाबासिनी गाउँपालिका–४ घर भएका ४० वर्षीय जमुना साह तेली छन्। उनीहरुबाट २ हजार ८१० एम्पुल लागुऔषध बरामद गरिएको एनसीबीका प्रमुख एसएसपी विकासराज खनालले बताए।
उनीहरुमध्ये श्रेष्ठ २०६४ असोज १७ गते नाबालक धिरज अधिकारीलाई अपहरण गरी हत्या गरेको आरोपमा ८ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। श्रेष्ठ नाबालक अधिकारीलाई अपहरण गरी बा १ ज २३०३ नम्बरको ट्याक्सीमा राखेर हत्या गरी बागमती खोलामा फालेको आरोपमा जेल बसेर छुटेका थिए। उनलाई ललितपुर झम्सिखेलबाट लागुऔषधका विभिन्न एम्पुलसहित भदौ २ गते साढे ५ बजे पक्राउ गरिएको थियो।
त्यसको भोलिपल्ट काठमाडौं कालोपुलबाट पक्राउ परेका लिम्बू भने भारतमा इन्जिनियर पढेर आएका व्यक्ति हुन्। सिभिल इन्जिनियर रहेका लिम्बूले सुनसरीमा अध्यापन समेत गराउने गरेको पाइएको एसएसपी खनालले बताए। उनले कम्प्युटर, मोबाइल मर्मत गर्ने काम समेत गर्दै आएका थिए।
लिम्बूलाई नियन्त्रणमा लिएपछि उनैले दिएको सूचनाको आधारमा तेलीलाई पक्राउ गरिएको हो। तेलीले भारतीय बजारबाट लागुऔषध नेपालमा ल्याएर बेच्ने गरेको पाइएको छ। तेलीले आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको तेल राख्ने ट्यांकीको तल्लो भागमा काटेर फल्स बटम बनाई लुकाएर लागुऔषध ओसार्ने गरेको खुलेको छ।
उनले भारतबाट यसरी काठमाडौंसम्म लागुऔषध ल्याएवापत एक पटकमा ५० हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।