काठमाडौं– हाल सञ्चालनमा रहेको २६ वाणिज्य बैंकमध्ये तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेको छ।
सेन्चुरी बैंक, नबिल बैंक र नेपाल बैंक लिमिटेडको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेको नेपाल बैंकर्स संघले जनाएको छ।
नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कामय गर्न सीमा तोकेको थियो। यस्तो अनुपात रेसियो गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको थियो। सीडी रेसियो ९० प्रतिशत कायम गर्नु भन्नाले बैंकहरूले १ सय रुपैयाँ निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो।
यो नियम अनुसार साउन महिनाको अन्तिम दिनसम्म सेन्चुरी बैंकको सीडी रेसियो ९०.६३ प्रतिशत, नबिल बैंकको ९०.९२ प्रतिशत र नेपाल बैंक लिमिटेडको ९०.७२ प्रतिशत पुगेको हो। बाँकी बैंकको सीडी रेसियो ९० भन्दा तल रहेको नेपाल बैंकर संघले जनाएको छ।
साउनको अन्तिमसम्म ग्लोबल आईएमी बैंकको सीडी रेसियो ८९.९५ प्रतिशत, हिमालयन बैंकको ८९.४७ प्रतिशत, कुमारी बैंकको ८९.३१ प्रतिशत, लक्ष्मी बैंकको ८६.९९ प्रतिशत, माछापुच्छ्रे बैंकको ८६.६० प्रतिशत, मेगा बैंकको ८८.६८ प्रतिशत, एनसीसी बैंकको ८९.८१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको ८६.७६ प्रतिशत रहेको छ।
यसैगरी, एनआईसी एसिया बैंकको ८६.३७ प्रतिशत, एनएमबी बैंकको ८७.४१ प्रतिशत, नेपाल एसबीआई बैंकको ८४.६४ प्रतिशत, प्रभु बैंकको ८२.८८ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८९.१७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८९.९३ प्रतिशत, सानिमा बैंकको ८४.८० प्रतिशत, सिद्धार्थ बैंकको ८८.०९ प्रतिशत, स्ट्यार्डर्ट चार्टर्ड बैंकको ८६.८५ प्रतिशत र सनराइज बैंकको सीडी रेसियो ८८.०१ प्रतिशत रहेको छ।
बैंकहरूको कर्जा निक्षेप अनुपात सूचीमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।