काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले बेबवास्ता गरेको बताएका छन्।
काठमाडौं महानगरपालिका–१० लाखेचौरमा निर्मित सामुदायिक सभा हलको शनिबार उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउन सरकारले तत्काल इन्धनको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।
स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो। ‘इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन’, उनले भने।
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा सरकार महंगो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री कार्य जारी राखेर जनताको ढाड सेक्ने काम गरेको बताए।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी नहुँदासम्म काठमाडौंवासीले सधैं दुर्गन्ध खेप्न विवश हुने बताए। फोहरजस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्न नहुने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो पटक पेट्रोल, डिजेल, हवाई इन्धन, एपी ग्यासमा मूल्य तीनपटक घटिसक्दा पनि सरकारले महंगो मूल्यमा बिक्री गर्दै आइरहेको छ । मूल्य घटाउन चौतर्फी आवाज उठ्दा पनि सरकार मौन बसेको छ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको रु १४ लाख बजेटमा सामुदायिक सभाहल निर्माण गरिएको जानकारी दिए। उक्त सामुदायिक सभाहलका लागि चालु आर्थिक वर्षमा थप रु २० लाख विनियोजन गरिएको उनले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।