गुल्मी– गुल्मी जिल्लामा अवस्थित प्रसिद्ध रेसुंगा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराचुरुङ्गीको बासस्थान बनेका छन् । २०७३ सालमा रेसुंगा र ०६८ मा मदानेलाई सरकारले वन संरक्षण क्षेत्र घोषणा गरेको थियो । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चरा यहाँ फेला परेका हुन् । रेसुंगा वन संरक्षण क्षेत्रमा हालसम्म २५३ र मदाने वन संरक्षण क्षेत्रमा २६४ प्रजातिका चरा भेटिएका नेपाल पंक्षी संरक्षण संघ गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीका अनुसार रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा ३०५ प्रजातिका चराहरु छन् । त्यसमध्ये रेसुंगामा ६ प्रजातिका दुर्लभ चराचुरुङ्गी पाइन्छ । यहाँ चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध रहेका पन्थीले जानकारी दिए । मदानेमा ४ प्रजातिका दुर्लभ चराचुरुङ्गी पाइन्छ । जसमा सुन गिद्ध, चिर, सेतो गिद्ध, गोमायु, महाचील रहेका पन्थीले बताए ।

यसका साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि यी दुवै वन संरक्षण क्षेत्रमा पाइन्छ । रेसुंगामा ५६ र मदानेमा ६१ परिवारमा पर्ने चराहरु पाइने संघको तथ्याङ्कमा उल्लेख छ । संरक्षित चराका प्रजातिहरुमध्ये मदानेमा ३ र रेसुंगामा १ रहेका छन् । राष्ट्रिय जोखिममा परेका प्रजातिहरु मदानेमा १३ र रेसुंगामा १५ छन् । रेसुंगा १९ हजार दुई सय ८१.६५ हेक्टर र मदानेमा १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफल वन संरक्षण क्षेत्रको रुपमा रहेको छ । उक्त वन क्षेत्रमा चरा प्रजातिको अनुसन्धान तथा गणना गरिएको हो ।

बेला–बेलामा हुने वन डढेलो, बासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरु चरा संक्षरणका लागि चुनौती बनेको पन्थीले जानाकारी दिए ।
जिल्लाको आधा भाग संरक्षित वनले ओगटेको डिभिजन वन कार्यालय तम्घासका कार्यालय प्रमुख प्रभात सापकोटाले बताए । उनका अनुसार यस जिल्लामा २०७३ मा रेसुंगा, मुसिकोट, गुल्मीदरबार र ईश्मालाई समावेश गरी रेसुंगा वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०६८ मा मदाने र मालिकालाई समावेश गरी मदाने वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०७३ मा मुसिकोट, चन्द्रकोट, कालीगण्डकी, सत्यवतीलाई समावेश गरी थाप्ले सत्यवती वन संरक्षण क्षेत्र घोषणा गरिएको थियो । वन संरक्षण क्षेत्रको संरक्षण लागि सबै सरोकारवाला लाग्नुपर्ने सापकोटको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।