काठमाडौं– खगोलविद्हरुले पृथ्वीजस्तै नयाँ ग्रह पत्ता लगाएका छन्। नासाका खगोलविद्हरुले पृथ्वीभन्दा करिब ३७ प्रकाश वर्षको दूरीमा एक रातो ड्वार्फ स्टारलाई परिक्रमा गरिरहेको ग्रह पत्ता लगाएको जनाएका छन्।
उक्त ग्रहको द्रव्यमान भने पृथ्वीभन्दा करिब चार गुणा बढी रहेको वैज्ञानिकले बताएका छन्। तर, यो ग्रह आफ्नो ताराको हेभिटेबल जोनामा परिक्रमा गर्ने भएकाले यसको सतहमा पानी हुनसक्ने वैज्ञानिकले आशंका गरेका छन्।
हेभिटेबल जोन भनेको जीवनका लागि योग्य दूरी हो। जस्तै पृथ्वी र सूर्यबीचको दूरी। जहाँ पानी तरल अवस्थामा पाइन्छ।
तर, यस ग्रहले कहिले हेभिटेबल जोन भित्र त कहिले बाहिरबाट तारालाई परिक्रमा गर्ने भएकाले जीवन भए नभएकोबारे एकिन गर्न सक्ने अवस्था नभएको नासाका खगोलविद्ले बताएका छन्। तर, वायुमण्डल पृथ्वीसँग मिल्दोजुल्दो भएका कारण यसको सतहमा पानी भने हुनसक्ने आशंका गरिएको छ।
नासाको जेम्स स्पेस टेलिस्कोपले यस एक्सोप्लानेटको खोज गरेको हो। इन्फ्रारेड प्रविधिको सहायताले कैयौं प्रकाश वर्ष टाढा रहेका ग्रहरुको खोज गर्ने गरिन्छ।
साथै नासाले यस ग्रह र ताराको दूरी पृथ्वी र सूर्यको तुलनामा ०.०५ गुणा रहेको बताएको छ। ब्रह्माण्डमा जीवनको अध्ययन गर्नका लागि ड्वार्फ स्टारलाई वैज्ञानिकले उपयुक्त लक्ष्य मान्दै आएका छन्। तर त्यस्ता ताराको प्रकाश कम हुने भएकाले खोजका लागि भने कठिन हुने गर्दछ।
यस्ता ताराहरुको सतहको तापक्रम ४००० डिग्रीभन्दा कम हुन्छ। खगोलविद्का अनुसार सूर्यपछि प्रोक्सिमा सेन्टुरी–बी अहिलेसम्म पत्ता लागेको बसोबास योग्य ग्रह भएको एक मात्र अर्को तारा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।