काठमाडौं-आफ्नो मधुर स्वरका कारण श्रोता-दर्शकका मनमा बस्न सफल गायक शिशिर योगीको वैदिक, तान्त्रिक, बीज र गायत्री मन्त्रको सम्मिश्रण भएको ‘शनि मन्त्र’ शनिबार सार्वजनिक गरिएको छ |
यस शनि मन्त्रमा शिशिरले आफैँ संगीत भरेका छन् भने उनलाई आवाजमा सलिना बिक र उनकै सुपुत्री श्रुति योगीले साथ दिएका छन्। नोर्बु शेर्पाले सबै मन्त्रमा संगीत संयोजन गरेका छन् भने ध्वनि सम्पादनको काम प्रकाश मिश्रले गरेका हुन् | दृश्य सम्पादन वीरेन्द्र भाट ‘विपीन’ ले गरेका छन् । शब्द सम्पादनको कार्य बासुदेव कृष्ण शास्त्रीले गरेका छन् भने रेकर्डिस्टका रुपमा अजय कार्की रहेका छन् ।
प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली श्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिएको छ। भारतमा भक्तिसंगीतकाे विधा निकै फराकिलो छ। त्यहाँ भक्तिसंगीत मूलधारको संगीतजस्तै उर्वर छ । नेपालमा भक्तिसंगीतलाई थप उचाइमा लैजान दत्तचित्त शिशिरले गाएका गणेश वन्दना, गायत्री मन्त्र र पौराणिक शनि मन्त्र केही हप्ता अघि सार्वजनिक भइसकेका छन्|
शिशिर केही फरकपन दिनका लागि केही न केही गरिरहने साधक हुन् | दर्शक श्रोतालाई हरदम फरकपनको अनुभूति दिलाउन खोज्नु नै उनको मूलभूत विशेषता हो | पछिल्लो समयमा अध्यात्म र भक्तिसंगीततर्फ उनको ध्यान खिचिएको छ | शिशिरले गाएका 'मानिस खोजिरहेछु, सारंगी त रेटे पनि, आमाले घाँस काट्दै गर्दा, आमा, बा' लगायतका गीत सदावहार बनेर नेपाली संगीत आकाशमा गुन्जिरहेका छन्|
राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आएका शिशिरले पछिल्लो समयमा भने भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो आवाजको जादु पस्केका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।