काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्। नेपाल प्राध्यापक संघको हीरक जयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए।
‘विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ। उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, संगीत र साहित्यको संरक्षण र सम्वर्द्धन गर्दै नयाँ पिँढीमा ज्ञान तथा सीप हस्तान्तरणका लागि ध्यान दिन जरुरी छ । यस विषयमा आगामी दिनमा नेपालका प्राध्यापक र विद्यार्थी सक्रिय हुनुहुने विश्वास लिएको छु,' देउवाले भने।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने बौद्धिक वर्गको पहलमा २०१९ मा स्थापित नेपाल प्राध्यापक संघले प्राध्यापकको हकअधिकारको संरक्षण र प्राज्ञिक स्वतन्त्रताका लागि योगदान पु¥याउँदै आएको छ।
प्रधानमन्त्री देउवाले आगामी दिन पनि प्राध्यापकको व्यावसायिक हकहितका साथै विश्वविद्यालयीय शिक्षालाई थप गुणात्मक, अनुसन्धानमूलक र जीवनोपयोगी बनाउन संघले अझ गहन र रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
प्राध्यापकको प्रतिभा र ज्ञानको उच्चतम् सदुपयोग गर्नसकेमा मात्र मुलुकको चौतर्फी विकास हुनसक्ने बताउँदै उनले यस तथ्यलाई मनन गरी प्राध्यापकको हकहितको संरक्षण गर्दै उनीहरूको पेशागत वृत्तिविकासलाई सहयोग पुर्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले छ दशक लामो इतिहास बोकेको प्राध्यापक संघले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा जिम्मेवार भएर विश्वविद्यालयको पठनपाठनमा कुनै आँच आउन नदिने तथा शैक्षिक क्यालेण्डरमा कुनै प्रतिकूल अवस्था सिर्जना हुन दिन नहुने बताए।
विश्वविद्यालयमा स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्राध्यापक, विद्यार्थी र पदाधिकारी तीनवटै पक्षबीच सुमधुर र सौहार्द्रपूर्ण सम्बन्ध कायम हुन आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले विश्वविद्यालयलाई अस्वच्छ राजनीतिबाट मुक्त राख्दै देश र समाजका लागि उपयोगी शिक्षित जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको उल्लेख गरे। विश्वविद्यालयका समस्या र चुनौतीलाई आपसी संवाद र छलफलबाट समाधान गर्नुपर्ने कुरामा जोड दिँदै उनले यसमा प्राध्यापक संघको पनि रचनात्मक भूमिकाको अपेक्षा गरे।
कुनै पनि मुलुकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने उल्लेख गर्दै उनले विश्वविद्यालयले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका नयाँनयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
‘पञ्चायतकालमा प्रजातन्त्रका लागि लडेका र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापनामा अह्म भूमिका निभाएका प्राध्यापक र विद्यार्थीको भूमिका अबका दिनमा फेरिएको छ। अब विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई उच्च र प्रतिस्पर्धी बनाउन प्राध्यापक निरन्तर प्रयत्नरत हुनु आवश्यक छ । समग्र प्राध्यापकको नेतृत्व गर्ने नेपाल प्राध्यापक संघलाई आफ्नो विगतको सङ्घर्षशील पाटो परिवर्तन गर्दै प्राज्ञिक बहसमा केन्द्रित भई समृद्ध मुलुक बनाउने सरकारको अभियानमा सहभागी हुन अनुरोध गर्न चाहन्छु', प्रधानमन्त्री देउवाले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।