काठमाडौं– बालाजुको बाइपासस्थित जुता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।
बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड फुटवेयरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
बिहान साढे ११ बजेबाट लागेको आगो निभाउन ७ वटा दमकल र १७ वटा पानी ट्याङ्कर प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ। काठमाडौं महानगरपालिकाबाट जुद्ध बारुण यन्त्रका २ वटा दमकल, ललितपुरबाट २ वटा दमकल, भक्तपुरबाट १ वटा दमकल, नेपाली सेनाबाट १ वटा, विमानस्थलबाट १ वटा गरी ७ वटा दमकल र १७ वटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको एसपी मैनालीले बताए।
काठमाडौंका एसएसपी, एसपी, प्रहरी बृत्त महाराजगञ्ज, स्वयम्भूबाट प्रहरी नायव उपरीक्षक, बृत्त बालाजु, नगर प्रहरी, ट्राफिक प्रहरी, बिपत ब्यवस्थापन महाशाखाबाट खटिएको टोली गरी १७५ जना प्रहरी आगो नियन्त्रणमा खटिएका थिए।
यस्तै, नेपाली सेना र सशस्त्रबाट गरी ५० जनाको टोली खटिएको थियो। आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकसहित सबै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीय गरी ३०० भन्दा बढी परिचालन भएका थिए।
आगो दिउँसो साढे १ बजे नियन्त्रणमा लिइएको हो। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि अन्दाजी ४ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।