काठमाडौं– गत साता काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वार्षिक बजेटमा ‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ शीर्षकमा पनि रकम विनियोन गरेको पाइएको छ। उक्त कम्पनी निजी प्रयोजनका लागि स्थापना भएको देखिन्छ।
महानगरले निजी कम्पनीलाई सिधै बजेट तथा कार्यक्रम दिन नमिल्ने भए पनि मेयर बालेन शाहको दबाबमा यो कार्यक्रममा उक्त कम्पनीलाई बजेट दिइएको महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको भनाइ छ।
महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार शिक्षासँग सम्बन्धित कार्यको नाममा उक्त बजेट छुट्याइएको हो। उनले यस्तो दाबी गरे पनि बजेटको शीर्षक तथा बजेट विनियोजन गर्ने विभाग भने फरक देखिन्छ।
महानगरको बजेटको क्रम संख्या ७६१ मा सम्पदा विभागअन्तर्गतको सामाजिक विकास क्षेत्रभित्रको उपक्षेत्र भाषा तथा संस्कृतिमा ‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ शीर्षकमा बजेट बिनियोजन गरिएको छ। २ लाख २५ हजार बजेट बिनियोजन गरिएको उक्त बजेटको शीर्षक भने कुनै कम्पनीको नामको रुपमा रहेको छ।
महानगरका प्रवक्ता मानन्धनरले नेपाल लाइभसँग गरेको कुराकानीमा उक्त बजेट महानगरपालिकाका मेयर शाहको सिफारिसमा राखिएकाले आफूलाई त्यसबारे विस्तृत जानकारी नभएको बताए। प्रवक्ता मानन्धनरका अनुसार बालबालिकाका लागि महानगरको जानकारीमूलक कार्टुन बनाउने भन्दै उक्त बजेट राखिएको हो। ‘मेयरकै सिफारिसमा राखेको हो। उहाँले भनेअनुसार बालबालिकाका लागि कार्टुन बनाउने नाममा यो बजेट राखेको हो,’ उनले भने, ‘थप कुरा प्रष्ट हुनका लागि मेयरसँगै सोध्नु पर्ला।’

तर, बजेटको विवरण शिक्षासँग सम्बन्धित भएपनि बजेट बिनियोजन गरिएको विभाग तथा इकाइ भने फरक रहेको छ। सम्पदा विभागमार्फत् सामाजिक विकास क्षेत्रका लागि बजेट बिनियोजन गरिएको भन्ने प्रश्नमा प्रवक्ता मानन्धनर भन्छन्, ‘तपाईंले भनेकै जस्तो प्रश्न हामीले पनि सोधेको हो। तर, उहाँले बालबालिकाको लागि कार्टुन बनाउने शीर्षक भएको बताउनु भएको थियो।’
यता सम्पदा विभागकी प्रमुख अर्चना शाक्यले भने सो बजेट पहिले नै सिफारिस भएर आएको बताइन्। ‘त्यो पहिल्यै सिफारिस भएको थियो,’ उनले नेपाल लाइभसँग भनिन्, ‘म अहिले बाहिर कार्यक्रममा छु। पछि कुरा गरौंला।’
महानगरको सामाजिक विकास विभागका दीपक अधिकारीले भने आफू अहिले टाढा रहेकाले सो विषयमा जानकारी नभएको बताए। उनले भने, ‘म अहिले एकदम टाढा छु। तालिममा छु। हामीले सिफारिस गर्दा त्यस्तो शीर्षकमा बजेट थिएन।’
‘नेपाल भिडियो क्रिएसन एण्ड मोर’ नामक शीर्षकमा बजेट निर्माणका क्रममा आफूले सिफारिस गर्दा कुनै पनि बजेट नभएको अधिकारीले बताए। यो बजेटको विषयमा कुराकानी गर्न खोज्दा मेयर शाह सम्पर्कमै आउन चाहेनन्। महानगरले विभिन्न प्रतिष्ठानलाई बजेट विनियोजन गरेको भनेर आलोचना भइरहँदा निजी कम्पनीको शीर्षकमा पनि बजेट देखिएको छ।
विगतमा पनि महानगरले यसैगरी रकम वितरण गरेको भनि आलोचना हुने गरेको थियो। राजनीतिक रुपमा भागवन्डा गरि रकम वितरण गर्नु गलत भएको भन्दै गत वर्ष एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यको आलोचना भएको थियो।
अहिले स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर शाहले पनि दलहरु निकट प्रतिस्ठानहरुलाई र निजी कम्पनीलाई बजेट दिनु गलत हुने भन्दै आलोचना भइरहेको छ। मेयर शाहले महानगरको बजेटबाट दिवंगत र्यापर यमबुद्धको शालिक बनाउन लागेको भन्दै आलोचना भएको थियो।
यसरी पैसा पाउने कम्पनीको बारेमा कतै केही खुलेको छैन। उक्त कम्पनी कसको नाममा रहेको छ, किन बजेट छुट्याइयो भन्ने बारेमा महानगरका कर्मचारी नै अनविज्ञ रहेका छन्। यसअघि उक्त कम्पनीसँग महानगरले कुनै पनि काम नगरेको र एक्कासी बजेटमा मात्र परेपछि महानगरका कर्मचारीले थाहा पाएका थिए।
उक्त कम्पनी सामाजिक रुपमा पनि चर्चामा नरहेकाले यस बारे विस्तृत जानकारी नभएको महानगरका बजेट शाखाका एक कर्मचारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।