धनगढी–सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशनको २१ औं बैठकको शून्य समयमा बोल्दै सत्तापक्ष तथा प्रतिपक्षी दलहरुले प्रदेश सरकारको विरोध गरेका छन्।
किसानहरुले समयमै मल पाउन नसकेको, निर्मला हत्याकाण्डको अहिलेसम्म सत्यतथ्य सार्वजनिक हुन नसकेको, विपदमा परेका व्यक्तिहरुले समयमै राहत पाउन नसकेको लगायतका विषयमा प्रदेश सरकारको आलोचना भएको हो।
शून्य समयमा बोल्दै एमालेका प्रदेश सभा सदस्य लिलाधर भट्टले जनताले प्रदेश सरकार नभएको आभास गरिरहेको बताए। ‘बाढीपीडितहरु छटपटाइरहेका छन्। बाढीपहिरो अहिले पनि आइरहेको छ। गत वर्ष बेघर भएका मानिसहरुको अहिलेसम्म यो सरकारले ध्यान पु・याउन सकेको छैन,’ उनले भने, ‘बैतडीको गोकुलेश्वर, विशालपुर, ढुङ्गाड, सिगाड क्षेत्रमा गत वर्ष अविरल वर्षाले पहिरो जाँदा धेरै परिवार प्रभावित भएका थिए। अहिलेसम्म त्यहाँ राहत पुग्न सकेको छैन।’
उनले बजेट ल्याउँदा सरकारले वेथिति गरेको बताउँदै ‘बजेट ल्याउँदा जुन खालको क्रियाकलाप गरिएको थियो। सरकारले संशोधन गर्छौं भनेको थियो। हामीले १४ बुँदे सुझावसमेत दिएका थियौं। तर, अहिले त्यसमा कुनै सुनुवाइ भएको छैन। त्यसको गलत रुपमा व्याख्या हुँदैछ। सरकारले सेटिङमार्फत् ल्याएको बजेट टेण्डरमार्फत् ठेक्का गर्ने भनेको थियो।’ उनले प्रदेशमा पनि भ्रष्टाचारका गतिविधि नरोकिएको बताए।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत खडकाले निर्मला हत्याकाण्ड सत्तामा जाने बहसमात्र बनिरहेको बताए। ‘निर्मला हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। अनुसन्धानमा कुन कुराले प्रभाव पारिरहेको छ। के कुराले रोकिरहेको छ। सरकारले यसको जवाफ दिनुपर्छ’ उनले भने।
उनले हत्याका दोषीलाई दण्डित गरिनुपर्ने बताए। गत वर्षको बाढी पहिरोबाट प्रभावित परिवारले अहिलेसम्म राहत पाउन नसकेको उनले बताए।
नेकपा माओवादी केन्द्रका महेशदत्त जोशीले किसानहरु मल नपाएर धेरै ठूलो मर्का, चिन्तामा रहेको बताए। ‘धेरै खर्च गरेर खेती भएका छन्। किसानहरु युरिया मल नपाएर लगानी डुब्ने चिन्तामा छन्’ उनले भने ‘खुल्ला सिमानाबाट केही मल ल्याउँदा हाम्रा प्रहरीले समाउने, थुन्ने, भन्सारमा लगेर बुझाउने, फाल्ने गरेका छन्। सरकारले त उपलब्ध गराउन सकेन, आफनै जोहोमा ल्याउँदा पक्राउ गर्नु उपयुक्त होइन।’ उनले सीमामा मल रोक्न प्रहरी खटाउनुभन्दा नाका नै सिल गर्न माग गरे।
बैठकमा उठेका प्रश्नमाथि जवाफ दिन प्रदेश सरकारलाई सभामुख अर्जुनबहादुर थापाले ध्यानाकर्षण गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।