काठमाडौँ–पर्सा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि अड्किएको विद्युत जडानको काम अघि बढेको छ। वन तथा वातावरणमन्त्री प्रदीप यादवको पहलपछि पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्तिको समस्या समाधान भएको हो।
समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुनेजस्ता समस्याहरुबाट सास्ती खेपिरहेका उद्योगीहरुले अब राहत पाउने उनले बताएका छन्।
मन्त्री यादवले लामो समयदेखि रोकिएको पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म ३३ केभी क्षमताको अण्डरग्राउण्ड (भूमिगत) विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्।
नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी विद्युत प्रसारण लाईनअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्राधिकरणले मागेको अनुमति बुधवार मन्त्री यादवले स्वीकृत गरेका हुन् ।
यादवले वन मन्त्रालयबाट अनुमति नपाएर रोकिएका सबै निर्माणका कामहरु तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता जनाएअनुरुप विद्युत प्रसारण लाईन जडानको काम अघि बढ्ने भएको छ।
यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि उक्त समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए। यादवले मन्त्री नियुक्त भएपछि उक्त समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।