काठमाडौं–मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ,बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको आरोपमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
तत्कालीन प्रदेश सचिव भुसाल, सीडीई, सहलेखापाल, ओमसत्य साइ प्रालि वीरगञ्ज पर्साका प्रबन्ध निर्देशक रेनु अग्रवालसहित ६ जना र उक्त संस्थामाथि गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो।
उक्त कार्यक्रममा अनियमितता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखिएको भन्दै उजुरीमाथि अनुसन्धान हुँदा नेपाल सरकार तथा प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानीनोक्सानी गरेको पुष्टि हुन आएकाले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन जनकपुरका तत्कालीन सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल तथा ओम सत्यसाई प्रालि वीरगन्ज पर्सा र त्यसका प्रबन्ध निर्देशक रेनु अग्रवाल प्रत्येकसँग १० करोड ३३ लाख ७५८ बिगो मागदाबी गरिएको छ। यस्तै, जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो र उक्त शाखाका खरिदार जितमोहनकुमार दासविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।