काठमाडौं– मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर भएको छ। वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको उक्त म्यानपावरका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको हो।
संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेन लगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाई ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो।
विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, यामबहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको मुद्दा दायर गरिएको हो।
यस्तै गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ। उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सयसमेत गरि दुई करोड ७९ लाख २२ हजार ८ सय पीडितहरुलाई दिलाउने गरी निवेदन दिइएको छ।
मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही गरिने विभागले जनाएको छ।
विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुदा दायर गरेको विभागका निर्देशक एंव सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।