काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन तयारी थाल्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।
अबका केही महिनाभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै देउवाले निर्वाचनका पूर्वतयारीका काम समयमै सम्पन्न गर्न, निष्पक्ष, विश्वासिलो र भरपर्दो वातावरण बनाइ निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकतामा राखीअघि बढ्न सम्बन्धित सबैसँग अनुरोध गरे।
देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन पनि दिए। जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिँदै उनले भने, ‘तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्, जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस्।'
उनले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारीसाधन सुविधा र इन्धन नदिन पनि निर्देशन दिए। इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधा पाए नपाएको लगत हेरेर कटौती गर्न निर्देशन दिए।
प्रधानमन्त्री देउवाले छ महिनाभित्र तरकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुने गरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्। विद्युत् खपत बढाउने, निर्यातलाई प्रवद्र्धन गर्नेलगायत काम सबै मन्त्रालयले योजना बनाएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।