धनगढी–अवैध काठ लुकाएको पाइएपछि धनगढीम एक जना काठ व्यवसायी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–६, जालीका करन चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ। स्थानीयको सूचनाका आधारमा गएको वनको टोलीले उनको खेतमा माटोमुनि लुकाएर राखेको अवस्थामा मंगलबार काठ बरामद गरिएको थियो।
८७ इन्च गोलाइ भएको २० फिट लामो सालको रुख ढलाएर जमिनमुनि माटोले पुरेर लुकाएको अवस्थामा काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय तारानगरका प्रमुख जिसन कार्कीले बताए। जेसीबीले खनेर जमिनमुनिबाट काठ बरामद गरिएको उनले बताए। चौधरीले उक्त काठ आफूले पुरेको स्वीकार गरेको सव डिभिजनले जनाएको छ। काठ लुकाइएको स्थानमा पुगेको वनको टोलीसँगै जाली सामुदायिक वनका पदाधिकारी, स्थानीयसामु चौधरीले आफूले काठ पुरेको स्वीकारेका थिए।
काठ बरामद गरिएपछि चौधरीलाई पक्राउ गरेर कारबाही प्रकृया अगाडि बढाइएको डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख पूर्णशंकर यादवले बताए। जालीका स्थानीयले भने काठ लुकाएको अरु क्षेत्रमा वनको टोलीले उत्खनन् नगरेको आरोप लगाएका छन्।
‘चौधरीले भरान गर्ने नाममा आफ्नो खेतमा माटोका ठूलाठूला ढिस्का बनाएका छन्। त्योभित्र ठूलो परिणाममा काठ लुकाइएको छ,’ एक स्थानीयले भने, ‘तर त्यहाँ वनको टोलीले जेसीबीले माटो उधिनेर हेरेन।’ स्थानीय र जनप्रतिनिधिको दबाबपछि पुगेको वनको टोलीले औपचारिकताका लागि एक गोलिया काठमात्रै लिएर फर्केको आरोप लागेको छ। ‘माटोभित्र पनि सालका ठूलठूला गोलिया लुकाइएका छन्।
चौधरीले नजिकै रहेको आफ्नो होटेलको पछाडि पनि काठ लुकाएर राखेको वनका कर्मचारीलाई समेत थाहा छ।’ अर्का स्थानीयले भने, ‘तर वनका कर्मचारीले ती ठाउँमा हेरेनन्।’ वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीसँगको मिलेमतोमा चौधरीले काठ तस्करी गर्दै आएको स्थानीयको आरोप छ । पक्राउ परेका चौधरीले धनगढीको हसनपुरमा काठ उद्योग सञ्चालन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।