काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्। सोमवार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए।
भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्ष अघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ। तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पुरा गरिने उनको भनाइ छ। तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनको भनाइ छ।
तिलौराकोट दरबारको समुचित विकास एंव प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए।
सो अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए।
लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताएका थिए। बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए।
तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो। भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।