दाङ–खोलाले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। काठमाडौं महाराजगञ्ज निवासी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङको बंगलाचुली गाउँपालिकाअन्तर्गत पर्ने खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
उनी घोराहीस्थित दिदीको घरमा आएकी थिइन्। साथीहरूसँगै घुम्न गएका बेला सोमबार दिउँसो साढे ४ बजेतिर सुनितालाई खोलाले बगाएको हो। प्रवक्ता रिजालका अनुसार बाढीले बगाउँदा घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएका छन्।
उनीहरु चार जना सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा दाङको पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुलीको मर्फेस घुम्न गएका थिए। तर पानी पर्न थालेपछि उनीहरू बाटोबाटै फर्किएका थिए। फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको हो।
खोलाले दुई वटा मोटरसाइकल बगाएको भए पनि रा ३ प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।