काठमाडौं- रुसी आक्रमणमा युक्रेनका एक व्यापारी मारिएका छन्। दक्षिणी सहर माइकोलाइभमा रुसी गोलाबारीमा परि युक्रेनका धनी व्यापारी आफ्नी श्रीमतीसहित मारिएका बीबीसीले जनाएको छ।
७४ वर्षीय ओलेक्सी भाडाटुर्स्की र उनकी श्रीमती रायसाको राति घरमा मिसाइल प्रहार हुँदा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। भाडाटुर्स्की अन्न निर्यातमा संलग्न एक कम्पनी निबुलोनका मालिक थिए। उनले ‘हिरो अफ युक्रेन’ अवार्ड पनि पाएका थिए।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको निधनलाई ठूलो क्षति बताए। माइकोलाइभका मेयर ओलेक्जेन्डर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बमबारी भएको बताएका छन्। रुसी आक्रमणबाट होटल, खेलकुद परिसर, दुई विद्यालय, सर्भिस स्टेसन र घरमा क्षति पुगेको छ।
माइकोलाइभ कालो सागरमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह ओडेसा जाने मुख्य मार्गमा छ पर्छ। रुसले २४ फेब्रुअरीमा आक्रमण सुरु गरेपछि यस क्षेत्रमा लगातार जसो गोलबारी गरिरहेको छ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीको कार्यालयका एक सल्लाहकारले रूसले जानाजानी व्यापारीलाई निशाना बनाएको आरोप लगाए।
मिखाइलो पोडोल्याकले एउटा क्षेप्यास्त्रले व्यापारीको सुत्ने कोठामा प्रहार गरिएको भन्दै यसले जानाजानी व्यापारीलाई निशाना बनाएकोमा शंकालाई छाड्न मिल्दैन।
युक्रेन र रसिया गहुँ र अन्य अन्नका प्रमुख निर्यातकर्ता हुन् र युद्धका कारण निर्यातमा अवरोध आएकोले विश्वभर खाद्यान्नको मूल्य बढेको छ।
खाद्य संकट कम गर्ने उद्देश्यले दुई देशले गत हप्ता टर्कीमा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको सम्झौतामा हस्ताक्षर गरेका थिए। भोलिपल्ट ओडेसा बन्दरगाहमा रुसी आक्रमणले सम्झौता लगभग समाप्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।