काठमाडौं– नेपाल वायुसेवा निगमले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको १ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो। जसमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिद बापतको १५ करोड ऋणको किस्ता दिएको हो।
यस्तै वाइडबडी जहाज खरिद बापतको १५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता बापतको रकम भुक्तानी गरेको निगमले एक विज्ञप्तिमार्फत् जनाएको छ।
नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको क्षण दायित्वको किस्ता बापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमले जनाएको छ।
‘विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थकाबीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको हो।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।