काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।
गैरआवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको बताए।
उनले नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए।
'मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ। नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरुलाई यो उपयुक्त अवसर हो। प्रत्येक मुलुकको वा सहरको समूहहरु बनाइ कलेक्टिभ रुपमा ठूल्ठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस्। तपाईंले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,' उनले भने।
उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए।
'नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईंहरुको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईंहरुसँगै हुनेछौ। यहाँहरुलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरुलाई प्रतिवद्धतासमेत जनाउन चाहन्छु,' उनले भने।
उनले नेपालको अर्थतन्त्रका केही सूचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताए।
आईपीओमा गैर आवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलताको समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उनले नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।