काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै बिहीबार मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता गंगा पौडेलले बताए।
कर्तव्य ज्यानको आरोपमा पक्राउ परेका गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठविरुद्ध जन्मकैदको सजाय माग गरिएको छ।
मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को कसुर गरेको भन्दै १७७ को उपदफा २ बमोजिम जन्मकैदको सजाय माग गरिएको हो।
२५ दिन लामो अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरी वृत्त बालाजुले फाइल बुझाएको थियो। फाइल अध्ययन गरिसकेपछि बिहीबार मुद्दा दर्ता गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि विस्तृत अनुसन्धान गर्दा हत्या भएको खुलेपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरिएको छ।
असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्।
त्यसको भोलिपल्ट असार १२ गते गायिका सुनारकै प्रेमी भनिएका श्रेष्ठ पक्राउ परेका थिए। पक्राउ परेका श्रेष्ठले गायिका सुनारले आत्महत्या गरेको दाबी गरे पनि प्रहरी अनुसन्धानका क्रममा हत्या भएको खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।