काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकालेको प्रहरीले अनुसन्धान टुंग्याएर फाइल पेस गरेको छ। २५ दिन लामो अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरी वृत्त बालाजुले फाइल बुझाएको हो।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि विस्तृत अनुसन्धान गर्दा हत्या भएको खुलेपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित फाइल बुझाइएको हो।
सरकारी वकिल कार्यालयले फाइल अध्ययन गरेपछि जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ। असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्।
त्यसको भोलिपल्ट असार १२ गते गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ पक्राउ परेका थिए।
पक्राउ परेका श्रेष्ठले गायिका सुनारको हत्या गरेको अनुसन्धानबाट खुलेपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।