काठमाडौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वडा स्तरीय निरीक्षण अवलोकनलाई निरन्तरता दिएका छन्। त्यहि क्रममा सोमबार वडा १ का विभिन्न स्थानमा पुगेका छन्।
भ्रमण अवलोकनका क्रममा वडाअध्यक्ष भरतलाल तण्डुकार, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी भएको महानगरले जनाएको छ। कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर (नन्दीकेश बगैँचा) नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो।
त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको महानगरले जनाएको छ। भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो। प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो। यसैगरी वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुननिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको थियो।
अवलोकनका क्रममा प्रमुख शाहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताएका थिए। वडाध्यक्ष श्रेष्ठले, सरसफाइका लागि वडासँग पुग्नेजति जनशक्ति नभएको बताउँदै यसमा महानगरले सहयोग गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।