चितवन–भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।
मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन्। वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए। पक्राउ परेका गुरुङ हालै मात्रै एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।