काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भनिए पनि सम्भव नभएको बताएका छन्। मोदीसँग तय भएको भेट अन्तिम समयमा किन रद्द भयो भन्नेबारेमा आफू पनि जानकार नभएको उनले बताएका छन्।
तीन दिनको भारत भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले अन्तिमसम्म आफू मोदीलाई भेट्ने भन्ने पक्षमा रहेको बताए। ‘हामी भ्रमणको अन्तिम तयारीमा थियौं। प्रधानमन्त्री मोदीसँग भेट्ने भनिएको थियो तर नेपाल फर्कन होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने जानकारी पायौं’ उनले भने, ‘किन हो मैले पनि तपाईहरुले जस्तै जानकारी पाएको छैन।’
उनले भारतमा डुबानको समस्या भएर हो कि भन्ने लागेको उनले बताए। ‘मलाई कुनै पछुतो छैन,’ उनले भने, ‘भेटेर फोटो खिच्नेमात्र होला।’
उनले आफ्नो भ्रमणले केही न केही सकारात्मक हुने दाबी गरे। आफ्नो भ्रमणपछि भारतलाई पनि नेपालसँग कुरा गर्न सहज हुने उनको भनाइ छ। उनले इपीजीदेखि डुबानसम्म विषय अघि बढाउन सहज हुनसक्ने दाबी गरे। उनले आफ्नो सद्भावना भ्रमण भए पनि केही होला भन्ने विश्वास आफूले बोकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।