काठमाडौं– शुक्रबारबाट नेपाली सिनेमा हलमा २ नेपाली र २ भारतीय गरी ४ फिल्म प्रदर्शनमा आएका छन्। आजबाट नेपाली फिल्म ‘सम्झना बिर्सना’, ‘सिल्ली फोर’ र हिन्दी फिल्म ‘स्याबास मिठू’ र ‘जुदा हो के भी’ रिलिज भएका छन्।
निमेष प्रधानले निर्देशन गरेको फिल्म ‘सम्झना बिर्सना’मा त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको छ। अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्रीद्वय छुल्ठिम गुरुङ र पुजा शर्माको यो फिल्ममा मुख्य अभिनय रहेको छ।
त्यस्तै, अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फोर’ पनि आजबाट प्रदर्शनमा आएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्ममा ४ जना पात्र हिरोइन बन्न चाहँदा भएका घटनाहरुलाई देखाइएको छ। फिल्ममा केकीसँगै राजाराम पौडेल र रवीन्द्र झालगायतको अभिनय छ।
त्यस्तै, शुक्रबारबाट दुई हिन्दी फिल्म ‘स्याबास मिठू’ र ‘जुदा हो के भि’ पनि प्रदर्शनमा आएका छन् । तापसी पन्नुको मुख्य भूमिका रहेको ‘स्याबास मिठू’ लाई सुरजीत मुखर्जीले निर्देशन गरेका छन्। भारतीय महिला क्रिकेट कप्तान मिथाली राजको जीवनमा आधारित फिल्ममा तापसीसँगै विजयराजले मुख्य अभिनय रहेका छन्।
त्यस्तै, ‘जुदा हो के भी’लाई विक्रम भट्टले निर्देशन गरेका छन्। अक्षय ओबराय, रुसद रानालगायतको अभिनय रहेको छ। फिल्म हरर विधामा आधारित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।