काठमाडौं– भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारको तर्फबाट राहत सामग्री हस्तान्तरण गरे। भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यवाद दिए। नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणको भनाइ छ।
नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्वास व्यक्त गरे।
कार्यक्रममा राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरे। उनले प्राकृतिक प्रकोपबाट बच्न भारतले नेपाललाई सहयोग गर्दै आएको र यो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।
केही दिन अघिमात्रै नेपालका लागि भारतीय राजदूत बनेर आएका श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रयास गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।