काठमाडौं–नेपालका लागि संयुक्त राज्य अमेरिकाका प्रस्तावित राजदूत डिन थम्प्सनले नेपालसँगको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको बताएका छन्।
अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुधबार भएको सुनुवाइमा आफ्नो धारणा राख्दै डिनले उक्त कुरा बताएका हुन्। नेपालका लागि वर्तमान अमेरिकी राजदूत र्यान्डी बेरीको कार्यकाल सकिनलाग्दा थम्प्सनलाई राष्ट्रपति जो बाइडेनले नयाँ राजदूत प्रस्ताव गरेका हुन्।
थम्प्सनले आफ्नो धारणा राख्नेक्रममा चीन र भारतका अलावा अमेरिका नेपालको महत्वपूर्ण साझेदार मुलुक रहेको बताएका छन्।
‘हामी नेपालसँगको सम्बन्धको महत्वपूर्ण मोडमा छौं। नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनिन्छ, ती ढुङ्गा चीन र भारत हुन्। ती देशहरूको नेपालसँग महत्वपूर्ण सम्बन्ध छ,’ थम्प्सनले भने,‘हामीले नेपालको सार्वभौमसत्तालाई बलियो बनाउँदै संयुक्त राज्य अमेरिकासँगको साझेदारीलाई सुदृढ बनाउनुपर्छ।’
त्यस्तै आफ्नो प्राथमिकता नेपालको आर्थिक विकासलाई सुदृढ बनाउनु रहने उनले बताएका छन्। ‘नेपालको आर्थिक वृद्धिलाई सहज बनाउन र हाम्रो देशसँगको व्यापारिक सम्बन्धलाई सुदृढ पार्न मुख्य प्राथमिकता हुनेछ। भर्खरका उपलब्धीहरूले नेपालसँगको संयुक्त राज्य अमेरिकाको ७५ वर्षको साझेदारी बलियो रहेको बताउँछ’, उनले भनेका छन्।
उनले फेब्रुअरीमा नेपालको संसदले अनुमोदन गरेको ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी) परियोजनाले नेपालको जलविद्युतलाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न र गुणस्तरीय सडक निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै थम्प्सनले भूकम्पपछिको पुन:निर्माणको काम पुरा हुँदै गएको र संघीयतालगायतका अन्य सहयोग कार्यक्रममार्फत् संयुक्त राज्य अमेरिकाले सहयोग गरिरहेको बताए। अमेरिकाले मध्यम आय भएको देशमा स्तरोन्नति गर्ने नेपालकाे लक्ष्यलाई सहयोग गर्ने पनि उनले बताएका छन्।
त्यस्तै प्रस्तावित राजदूत थम्प्सनले नेपालका दलित, सीमान्तकृत समुदाय र तिब्बती शरणार्थीको अधिकारका पक्षमा रहने बताएका छन्। पछिल्लो समय अमेरिकी उच्च तहको भ्रमणका क्रममा तिब्बती शरणार्थीसँगको भेट र प्रस्तावित राजदूतको धारणालाई चासोका साथ हेरिएको छ।
युक्रेनको पक्षमा देखाएको पक्षधरताले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले देखाएको समर्पणलाई पुष्टि गरेको उनकाे भनाइ छ। तर यो विषय नेपालको असंग्लन परराष्ट्र नीतिविरूद्ध रहेको भनेर नेपालमा विरोध भएको छ।
‘संयुक्त राष्ट्रसंघको महासभा र संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा युक्रेनको प्रस्तावमा नेपालको समर्थनले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्था र क्षेत्रीय अखण्डताको पक्षमा आफ्नो समर्पणलाई देखाउँछ,’थम्प्सनले भने,‘यसले विश्व मञ्चमा नेपाल द्विपक्षीय साझेदारमा प्रतिबद्ध रहेको देखाउँछ।’
थम्प्सनले नेपालको लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन मद्दत गर्ने बताएका छन्। उनले भने,‘नेपालको लोकतन्त्रलाई समर्थन गर्नु हाम्रो हितमा हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।