काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतमा गएको पहिरो परेर विस्थापित भएकाहरुलाई तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन र दीर्घकालीन समाधानको उपाय खोज्न निर्देशन दिएका छन्।
प्राविधिकिहरुबाट अध्ययन गराएर बस्ती स्थानान्तरण गर्नु पर्ने भएमा पनि आवश्यक प्रक्रिया सुरु गर्नसमेत गृहमन्त्री खाणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन्।
तत्कालका लागि उद्धार, राहत, घरपालुवा तथा वन्यजन्तुको अवस्थाबारे पनि गहृमन्त्री खाणले जानकारी लिएको प्रजिअ आचार्यले बताए।
पहिरोबाट २८ घरपरिवार विस्थापित भएका प्रजिअ आचार्यले जानकारी दिएका छन्। पहिरोबाट चुम्चेत बस्ने ६० वर्षीय केदार लामाको गोठ, राशबहादुर लामाको घरमा क्षति भएको छ। पहिरोमा परेर तारा लामा, मनबहादुर लामा, अरमान लामा र सिंहबहादुर लामा घाइते भएका छन् ।
प्रशासनले तत्कालका लागि आवश्यक पर्ने खाद्यसामग्री वितरण गरेको छ। उनीहरुलाई नजिकैको स्कुलमा राखिएको प्रजिअ आचार्यले बताए।
जाजरकोटको सडकबारे जानकारी
गृहमन्त्री खाणले जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीसँग जिल्लाको बारेकोट गाउँपालिकाको केन्द्र रहेको वडा नं २ बाट वडा नं ५ जोड्ने सड्कको अवस्थाबारे पनि जानकारी लिएका छन्। उक्त सड्कमा केही दिन अघि चट्याङ परेर चट्टान चर्किएको थियो।
उक्त ठूलो चट्टान बुधबार आफैँ फुटेर बाटो अवरुद्ध भएको र बिहीबार सुरक्षा समितिको बैठक बसी निर्णय गरेर हटाई सडक सञ्चालनमा ल्याइएको जानकारी गृहमन्त्रीलाई गराएको प्रजिअ शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।