जिरी–दोलखाको जिरी नगरपालिकाका ४१ घर पहिरोको उच्च जोखिममा परेका छन्। जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो। जिरी नगरपालिका–६ हाटडाँडा बजार क्षेत्रमा वर्षासँगै बुधबार दिउँसो पहिरो जाँदा १४ घरपरिवार विस्थापित भएको नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए।
पहिराले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए।
हाटडाँडामा गएको पहिराका कारण १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन्। नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए। जिरीलगायत क्षेत्रमा लगातार वर्षा भइरहेको हुँदा पहिराको जोखिम क्षेत्रमा बस्नका लागि सबैलाई सुरक्षित रहन प्रमुख जिरेलले आग्रह गरेका छन्।
त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिरोको उच्च जोखिम बढेको छ। मेलुङ गाउँपालिका–७ को जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिराको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए। मेलुङ–७ मा गएराति पहिराका कारण दुई घरमा क्षति पुगेको छ। उक्त वडामा हालसम्म ११ घरमा आंशिक क्षति पुगेको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।