काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ चियान छाओले शिष्टाचार भेटवार्ता गरेका छन्।
उक्त भेटमा राष्ट्रपति भण्डारीले नेपालको विकासका लागि सबै छिमेकी मुलुकको साथ लिएर अघि बढ्न चाहेको बताएको राष्ट्रपतिका प्रेस संयोजक टीका ढकालले जानकारी दिएका छन्।
राष्ट्रपति भण्डारीले लिउलाई गत वर्ष भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि दुई देशबीचको सम्बन्ध अझै मजबुत भएको बताएकी थिइन्।
त्यस्तै नेता लिउले राष्ट्रपति भण्डारीलाई आफू नेपालका राजनीतिक दलहरुसँगको सम्बन्धलाई थप विस्तार गर्न आएको बताएका छन्।
लिउलाई उदृत गर्दै प्रेस संयोजक ढकालले भने, ‘नेपालका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्न यो भ्रमण भएको हो। मैले यहाँका पार्टीका नेताहरूसँग भेटघाट गरेँ। नेपालका दलहरूले चीन र नेपालबीचको सम्बन्धमा खेलेको भूमिकालाई प्रशंसा गर्दछु।’
चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका लिउ बुधबार साँझ स्वदेश फर्कँदै छन्।
नेपाल ओर्लिएदेखि व्यस्त लिउले राजनीतिक दलका उच्च नेतृत्वसँग भेटवार्ता गरे। उच्च महत्वका साथ हेरिएको यो भ्रमण मुख्यतः चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलबीच सम्पर्क तथा सम्बन्ध विस्तारमा केन्द्रित रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।