काठमाडौं– सरकारले समयमा खर्च गर्न नसकेको बजेट रकामान्तर गर्ने गर्दछ। सरकारले गत आर्थिक वर्ष २०७७/०७८मा ल्याएको बजेटमध्ये ४०.५० प्रतिशत खर्च गर्न सकेन।
उक्त बजेट सरकारले विभिन्न शीर्षक तथा उपशीर्षकमा रकमान्तर गरेको छ। आर्थिक वर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
यसवर्ष सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रुपैयाँ बजेट खर्च गर्न सकेन। सोही बजेट सरकारले रकमान्तर गरेको महालेखा परीक्षक कार्यालयले जानकारी दिएको छ।
रकमान्तर भएको बजेटमध्ये आषाढ महिनामा ४२ अर्ब ५५ करोड २५ लाख रुपैयाँ र आषाढ अन्तिम हप्तामा ६ अर्ब ११ करोड २० लाख रुपैयाँ रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थप गरेको छ।
बजेट उपशीर्षक ६०२ (अर्थ विविध) मा एकमुष्ट ५६ अर्ब १९ करोड ५३ लाख बजेट विनियोजन भएको छ। विनियोजन भएको बजेट विभिन्न उपशीर्षकबाट ६२ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ (शुरु बजेट विनियोजनको १११.६२ प्रतिशत) रकमान्तरबाट थप गरी १ खर्ब १८ अर्ब ९२ करोड २ लाख बजेट कायम भएको छ।
कायम भएको उक्त बजेटमा १ खर्ब १६ अर्ब १५ करोड २९ लाख रुपैयाँ सुरु बजेट विनियोजनको २०६.७० प्रतिशत विभिन्न संवैधानिक निकाय, आयोग वा मन्त्रालय मातहतका कार्यालय. प्रदेश तह र स्थानीय तहलाई रकम थप गरेको घटाई २ अर्ब ७६ करोड ७२ लाख खुद बजेट कायम गरेको देखिन्छ।
उक्त शीर्षकबाट १५ करोड १ लाख रुपैयाँ खर्च गरी २ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ बजेट बाँकी रहेको देखियो। यसरी बजेट खर्च हुन नसक्ने अवस्थामा पनि विभिन्न उपशीर्षकबाट रकमान्तर गरी थप रकम ल्याएको स्थिति छ।
सुरु बजेट व्यवस्था नभएका विभिन्न ११ कार्यक्रममा रकमान्तर गरी १ अर्ब ३१ करोड ९७ लाख ४५ हजार रुपैयाँ बजेट कायम गरी १ अर्ब १४ करोड ७२ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ। बजेट विनियोजन नभएको कार्यक्रममा रकमान्तरबाट थप गरी खर्च गर्नु उल्लेखित नियमावली तथा बजेट सिद्धान्त अनुरूप नदेखिने महालेखा परीक्षक कार्यलयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।