पोखरा- आगामी सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ।
कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो। यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरेको थियो।
हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ। फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ। बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खला देख्न सकिन्छ।
वर्षाका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ। यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १०० डलर (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ।
साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ। बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ।
२१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ। बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।