काठमाडौं– पहिलो नेपाली फिल्म कुन हो भन्ने अस्पष्ट विषयमा चलचित्र विकास बोर्डले भने ‘आमा’लाई यो मान्यता दिएको छ। विसं २०२२ मा प्रदर्शनमा आएको यो फिल्मलाई विकास बोर्डले आफ्नो आधिकारिक वेबसाइटमार्फत पहिलो नेपाली फिल्म भएको आधिकारिता दिएको हो।
२००६ मा प्रदर्शनमा आएको ‘हरिशचन्द्र’ र ‘आमा’बीच कुन नेपाली फिलम हो भन्ने विषयमा विवाद थियो। डीबी परियारको निर्देशनमा बनेको ‘हरिशचन्द्र’ भारतमा बनेको नेपाली भाषी फिल्म भएकाले यसलाई पहिलो नेपाली फिल्म भन्न नमिल्ने तर्कहरु अघि आउँथे।
उक्त विवादलाई लिएर तत्कालीन चलचित्र निर्देशक समाजले सञ्चार मन्त्रालयलाई पहिलो नेपाली फिल्मको आधिकारिता माग्दै पत्र पनि लेखेको थियो। तर, यस विषयमा मन्त्रालयले हालसम्म कुनै जवाफ दिएको छैन।
तर, विकास बोर्डले भने नेपाली सिनेमाको ऐतिहासिकतालाई प्रस्तुत गरेको समय रेखामा पहिलो नेपाली फिल्म ‘आमा’ भएको मान्यता दिएको छ।
नेपालमा छायांकन भएको र प्राविकिध काम भारतमा भएको उक्त फिल्मलाई पहिलो नेपाली फिल्म मानिएको हो। २०२२ मा प्रदर्शनमा आएको यो फिल्मलाई भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए।
फिल्ममा भुवन चन्द्र, शिवशंकर मानन्धर, चैत्यदेवी, बसुन्धरा भुसाललगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई तत्कालीन पञ्चायती साशनको प्रचारका लागि सरकारको प्रसार विभागले निर्माण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।