काठमाडौं- नेपालबाट चोरेर अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका टुँडाल नेपाल फर्काइएको छ। दुई थान टुँडाल अमेरिकी दूतावासले पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ।
पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले दुइटा टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरेकी हुन्।
काठमाडौं महानगरपालिका-१२ ह्यूमत टोलमा रहेको दुई छाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३ औं र १४ औं शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएका थिए।
उक्त टुँडालहरू एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इस्टिच्युट अफ शिकागोमा प्रदर्शनीमा राखेका थिए। उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।