तस्बिर : एपी। काठमाडौं– इरानी फिल्म निर्देशक महोम्मद रासौलोफलाई सामाजिक सञ्जालमा सरकारको विरोध गरेको भन्दै इरान सरकारले पक्राउ रहेको छ। इरानको सरकारले शुक्रबार रासौलोफसँगै अर्का फिल्मकर्मी मुस्तफा अल अहमदलाई पक्राउ गरेको हो।
‘दियर इज नो इभिल’जस्तो चर्चित र सफल फिल्म निर्देशन गरेका रासौलोफलाई इरान सरकारले २०१७ देखि फिल्म बनाउनमा प्रतिबन्ध लगाएको थियो।
सरकारविरुद्धका प्रोपोगाण्डाको उत्पादन गरेको भन्दै उनलाई देशबाहिर यात्रा गर्न र फिल्म निर्माण गर्नमा प्रतिबन्ध लगाइएको थियो। सोही बेला उनलाई एक वर्षसम्म कारागारमा समेत राखिएको थियो।
समाचार एजेन्सी एसोसिएट प्रेसकाअनुसार शुक्रबार विभिन्न फिल्मकर्मीहरुलाई त्यहाँको तानाशाही सरकारको विरोध गरेको आरोपलाई पक्राउ गरिएको छ।
रासौलोफका दुई निर्माता काभेन फर्नाम र फर्जाद पाकले उनको पक्राउको विरोध गर्दै ट्विटरमा लेखेका छन्। उनीहरुले दिएकै जानकारीकाअनुसार हालसम्म रासौलोफलाई कहाँ राखिएको छ भन्नेबारेमा केही जानकारी छैन।
स्वतन्त्र फिल्म निर्देशक रहेका रासौलोफ अहिलेको समयका इरानका प्रतिभाशाली फिल्मकर्मी हुन्। तर, इरान सरकारले भने उनीमाथि पटक पटक ज्यादती गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।