काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जैविक औषधि (जिवातु) राखेर प्लाष्टिकले छोपेको छ। वर्षात्ले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको हो।
यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्यून महानगरपालिकाले विश्वास लिएको छ।
अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ। आइतबार घाम लागेकाले त्यहाँ थुप्रिएको फोहोर घटाउने प्रयास गर्ने इन्जिनियर लम्साले बताए।
ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ। सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।