सांकेतिक तस्बिर डडेल्धुरा–बैतडीको पुर्चाैडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीमाथि बलात्कारको आरोप लागेको छ। कैलाली घर भई बैतडीमा ज्याला मजदूरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो।
मजदूर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरुले शनिबार विज्ञप्तिमार्फत कारबाहीको माग गरेका छन्। अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी)ले संयुक्त विज्ञप्ति निकालेर महिलामाथि क्याम्पस प्रमुखले बलात्कार गरेको आरोप लागेकाले घटनाको सत्यतथ्य छानबिन आग्रह गरेका छन्।
यस्तै अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी)ले अर्को विज्ञप्ति निकाल्दै क्याम्पस प्रमुख नेगीमाथि झुटो आरोप लगाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा आएका कुरा प्रमाणित गर्न चुनौती दिँदै दुवै संगठनले क्याम्पस प्रमुखमाथिको आरोप पुष्टि गर्न भनेका छन्।

पीडित महिलाले भने सञ्चारमाध्यमसँग कुरा गर्दै आफूमाथि बलात्कार भएको बताएकी छिन्। आफूले कैलालीबाटै बलात्कार मुद्दा दर्ता गर्ने उनले बताएकी छिन्।
जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटनाका विषयमा पीडितलाई बुझ्न पठाएको र आफूमाथि त्यस्तो व्यवहार नभएको बताएको दाबी गरेको छ। पीडित महिलालाई बुझ्दा आफूमाथि त्यस्तो प्रकारको व्यवहार नभएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
उनले भने ‘सामाजिक सञ्जालमा कुरा बाहिर आएपछि हामीले पीडितलाई बुझ्न पठायौं। पीडित भनिएकी महिलाले आफूमाथि त्यस्तो व्यवहार नभएको बताएपछि हामीले अन्य कुरातर्फ ध्यान दिएनौं । पीडितले अन्य ठाउँमा के भने भन्दा पनि प्रहरीसंग भनेको कुराका आधारमा कारबाही अघि बढ्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।