पोखरा–कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ। शनिबार साँझ ५ बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए।
उनका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्टहाउसका सञ्चालक एकजङ्ग गुरुङले आफ्ना भाइमार्फत् हुगुगोठ छेउको क्यादुखोला थुनिएको सूचना गाउँमा दिएका थिए।
वडाध्यक्ष गुरुङले भने, ‘नदी थुनिएको खबर माथिबाट प्राप्त भएपछि नदी आसपासको मानव बसोबास भएको क्षेत्र र हाइड्रोपावरहरूमा सतर्कता अपनाउन आग्रह गरेका छौँ। एक घण्टाजति थुनिएको नदी अहिले विस्तारै थोरै मात्रामा बग्न थालेको जानकारी प्राप्त भएको छ। माथि हुगुमै रहेकाहरु सुरक्षित स्थानमा छन्, यसका बारेमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकालाई सूचना दिएका छौँ।レ
क्यादुखोला मादी नदीमा मिसिने खोला हो। मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ । अविरल वर्षाका कारण नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ। गत वर्ष बर्खायाममा मादी नदी र यसका सहायक नदीहरूमा आएको बाढीले जलविद्युत् आयोजनाहरू बगाएको थियोे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।