काठमाडौं– नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ।
नेपाली खानाको प्रवद्र्धन र खाना पकाउने कलाको विकासका लागि पाककलासम्बन्धी रियालिटी शो सञ्चालनमा ल्याउन लागिएको निर्माता धर्मराज पाण्डेले जानकारी दिए।
उनले भने, ‘नेपाली खानाको प्रवद्र्धनका लागि एउटा प्लेटफर्म क्रियट गरौं भनेर यो अभियान चलाइएको हो। हामीसँग नेपाली खाना र मिडिया हुनुहुन्छ, आफूले पुलका रुपमा काम गर्न लागेको हुँ।’
धर्म पिक्चर्सको प्रस्तुति रहेको सेफ नेपालको निर्देशन सिमोस सुनारले गर्नुहुनेछ। सेफ नेपाल रियालिटी शोमा सेलीब्रेटी जर्जका रुपमा नायिका प्रियंका कार्की रहेकी छन्।
नेपालमै नौलो शोका रुपमा निर्माण गर्न लागिएको शोमा नेपाली खानाका पारखी र यस क्षेत्रमा रुचि हुनेलाई प्रोत्साहन गर्नुका साथै नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ।
साउन महिनादेखि सञ्चालनमा आउने उक्त शोका लागि करिब चार करोड खर्च हुने जनाइएको छ। उनले साउन पहिलो साताबाट कार्यक्रम उत्पादन गरिने र अन्तिम सातादेखि कार्यक्रम प्रसारण हुने निर्माता पाण्डेले जानकारी दिए।
विजेतालाई २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ। ‘नेपाली खानाबारे धेरै अध्ययन र प्रतिस्पर्धा भइरहेको छ तर यसलाई ठीक मनोरञ्जन तवरको प्लार्टर्फ देखिन्न अन्तर्राष्ट्रिय बजारमा बीबीसी मास्टर सेफजस्ता ‘फेन्चाइस’ शो भइरहेका छन्। यो मास्टर सेफकै फर्माट हो मास्टर सेफ ल्याउँदा बढी खर्चिलो हुने भएकाले हामीले नेपालकै मौलिक ब्राण्ड बनाउन खोजेका हौं’, निर्माता पाण्डेले भने।
प्रतियोगिताको अहिले ‘प्रि अडिशन राउण्ड’ चलिरहेको छ। अनलाइनबाट प्रतियोगीले सहभागिता जनाउन सक्नेछन्। औपचारिक घोषणा भइसकेको शो लागि ‘अनप्रोफेस्नल’ले पनि सहभागिता जनाउन पाउछन्। गृहिणी, खाना पकाउन रुचाउने कला भएका व्यक्ति तथा होटल म्यानेजमेन्ट अध्ययन गरेकाले सहभागिता जनाउन सक्नेछन्।
अनलाइन आवेदनमध्ये १०० जना सर्टलिष्ट गरिनेछ। उनीहरुले जर्जका अगाडि लाइभ अडिशनमा आफ्नो कला देखाउनुपर्नेछ। तीस जना छनोट भएपछि उनीहरुमध्ये कुकिङ प्रतिस्पर्धाबाट एलमिनेट राउण्डका लागि १५ जना छनोट गरिनेछ।
त्यसपछि एलिमिनेट राउण्ड सुरु भएपछि १५ जनाबाट एक÷एक जना एलिमिनेट हुँदै टप तीन छनोट गरी उनीहरुमध्येबाट सेफ नेपाल विजेता घोषणा गरिने आयोजकले जनाएको छ।
कार्यक्रमका जर्जमा प्रियंका कार्की, सेफद्वय गणेश ढकाल र लम्मणप्रसाद भण्डारी छन्। हरेक ‘एपिसोड’मा तीन जना जर्जबाहेक अन्य दुई जना गेष्ट एक सेलिब्रेटी र एक सेफ रहनेछन्। यो कार्यक्रम अवधिभर सेफहरुलाई आफ्नो पाककला देखाउने अवसर पनि पाउने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।