काठमाडौं– संघीय राजधानी काठमाडौंका सडकमा लेन अनुशासन पालनाका लागि ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ। सवारी चलाउँदा लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई कारबाहीमा तीव्रता दिइएको बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबारबाट लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए। 'सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,' उनले भने।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक पछि १ हजार ५०० रुपैयाँ जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ।
यस आर्थिक वर्ष २०७८/०७९ मा लेन अनुशासन मिच्ने १२ हजार ८६८ सवारी चालकलाई कारबाही गरी जनचेतनामूलक कक्षा दिइएको छ। ट्राफिक प्रहरीले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेन अनुशासनको अनुगमन गरी कारवाही गर्दै आएको छ।
सिसीटिभीबाट पनि लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधनको नम्बर टिपेर चालकलाई फोन गरी बोलाउने तथा चालककै घरमा चिठी पठाएर जरिवानासमेत गर्ने गरिएको प्रहरी उपरीक्षक दासले जानकारी दिए। लेन अनुशासन पालना नगरी तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने भएकोले लेनको सही प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।