दाङ– असार महिनाको अन्त्य लाग्दै गर्दा जिल्लाका अधिकांश किसान धान रोप्न व्यस्त छन्। असारे झरीसँगै किसानलाई धान रोप्न पानीको समस्या देखिएको छैन। सिंचाइ कुलो नभएका स्थानमा पनि किसानले मोटरबाट पानी तानेर धान रोप्न थालेका छन्।
पूर्वी देउखुरी क्षेत्रमा करिब ७० प्रतिशत खेतमा रोपाइँ सकिसकेको छ भने दाङ उपत्यकामा पनि करिब ५० प्रतिशतको हाराहारीमा रोपाइँ भैसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषिलाई यान्त्रिकरणतर्फ लगिँदै गर्दा धान रोपाइँमा पनि हल गोरु र ठिगारेको साटो टेक्टर र पावर टेलरबाट खेत जोत्ने र सम्याउने काम भइरहेको छ। यद्यपि रासायनिक मलको सहज आपूर्ति भने हुन सकेको छैन। किसानले भारतीय सीमा बजारबाट ल्याएको महंगो मल प्रयोग गरेरै पनि धान रोप्ने कामलाई निरन्तरता दिइरहेको बताएका छन्।
जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँ भइरहँदा बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने चैते धान घरमा भित्र्याउने चटारो छ। खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानहरुलाई चैते धान घरमा भित्र्याउन हतार भएको छ।
बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डाबर निवासी किसान रत्न थापाले बताए। उनका अनुसार अहिले चैते धान काट्नदेखि धान घरमा भित्र्याउने काम भइरहेको छ।
‘बर्खे धान भएको भए एकैपटक काटेर विस्तारै दाउने हुन्थ्यो। तर चैते धान वर्षात हुनुअघि नै काट्नुपर्ने भएका कारण सकेर दाउने हुँदैन’, किसान थापाले भने। उनले यसपाली चैते धानको उत्पादन राम्रो हुने बताए। करिब ६ कठ्ठा खेतमा चैते धान रोपेका थापाले उक्त खेतमा पुनः बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन्। चैते धान काटिसक्ने बित्तिकै बर्खेधान रोप्ने उनको तयारी छ।
त्यसैगरी बंगलाचुली गाउँपालिका–४ तल्लो गहतेराका रेश्मा गिरीलाई पनि खेतमा पाकेको चैते धान घरमा भित्र्याउने चटारो छ। चैते धान पाकेसँगै बर्खे धान रोप्नलाई ब्याड तयार हुन थालेपछि पाकेको धान काट्दै गरेको गिरीले बताइन्। ‘खेतमा बैशाखमा रोपेको धान पाकिसकेको छ। बर्खे सिजनका लागि ब्याड पनि तयार हुँदैछ’, गिरीले भनिन्, ‘त्यसैले अहिले पाकेको धान काट्दै गरेका छौं।’
उनका अनुसार असार महिनामा पानी परिरहने भएका कारण चैते धान घरमा भित्र्याउन भने समस्या हुने गर्छ। पानी परेपछि पाकेको धान खेतमै कुहिने भएका कारण पनि छिटो भित्र्याउनुपर्ने उनको भनाइ छ। चैते धान राम्रो उत्पादन हुने भएकाले यहाँका अधिकांश किसानले वर्षमा दुई बाली धान लगाउँदै आएका छन्।
केही वर्ष अघिसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहनस्वरुप बीउ निःशुल्क रुपमा दिने गरे पनि पछिल्लो समय दिन छोडेको किसानहरु बताउँछन्।
जिल्लामा चैते धान बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत डाबर, घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र देउखुरीका विभिन्न ठाउँमा किसानले रोप्ने गरेका छन्। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गर्छ।
चैते धान रोपेका किसानहरुले साउनको पहिलो सातासम्म पुनः उक्त खेतमा बर्खे धान रोप्छन्। जिल्लाको ३९ हजार ९ सय ५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धान खेती हुने गरेको छ।
कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सहयोग र पालिकाबाट उन्नत जातको बीउ–बिजन उपलव्ध हुनसके यहाँको धान उत्पादनले जिल्लाभरीको खपतलाई पूरा गरेर बाहिर निकासी गर्न पनि सकिने किसानहरुले बताएका छन्।
उनीहरुले स्थानीय सरकारलाई समयमा मल र बीउ उपलब्ध गराउन र आधुनिक कृषि प्रणालीमा किसानलाई जोड्न पनि आग्रह गरेका छन्। त्यस क्षेत्रको आर्थिक आयआर्जनको मुख्य आधार कृषि नै भएकाले यसलाई सहज र उत्पादनमुखी बनाउन आग्रह गरेका छन्। स्थानीय सरकारले धान उत्पादन बढाउनका लागि कुनै काम गर्न नसकेको किसानको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।