काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्र्याक्टर दुर्घटनाका घाइतेलाई स्वास्थ्य संस्थामा पुर्याउन र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
मन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवाडा, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख प्रहरी नायब उपरीक्षक विशाल सिलवाललाई घाइतेलाई तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
घाइतेको उपचार अभाव हुन नदिन गृहमन्त्री खाणले निर्देशन दिएको र त्यसै अनुरुप आफूहरूले बिरामीहरूलाई अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाएको प्रजिअ खतिवडाले बताए।
४४ मलामी बोकेको को २ त ३९६१ नम्बरको टयाक्टर खाँदबारी–लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र ३१ जना घाइते भएका प्रजिअ खतिवडाले जानकारी दिए। घाइतेमध्य े८ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
गम्भीर ६ बिरामीलाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रजिअ खतिवडाले जानकारी दिए।
गम्भीर घाइते दुई जनाको जिल्ला अस्पताल खादबारीमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रजिअ खतिवडाले जानकारी दिए।
प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।