काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन अर्थमन्त्रालय पठाएको छ।
अर्थको स्वीकृति र मन्त्रिपरिषदबाट पास भएर आएपछि संशोधित नियमावली लागू हुने बोर्ड श्रोताले जानकारी दिएको छ। बोर्डबाट अर्थमन्त्रालयमा संशोधन गर्नको लागि पठाएको उक्त नियमावलीले नयाँ ब्रोकर कम्पनीहरु ल्याउन बाटो खुला गर्ने छ।
नेपाल धितोपत्र बोर्डले २० करोड देखि एक अर्ब ५० करोडसम्म चुक्त पुँजी पुर्याउने जुनसुकै संस्थाले धितोपत्र दलाल कम्पनीको लाइसेन्स लिन पाउने गरी नियमावली बनाएर अर्थमन्त्रालयलाई पठाएको छ। बोर्डले धितोपत्र दलाल कम्पनीलाई तीन किसिममा विभाजन गरेर पुँजी तोकिएको छ। सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र किनबेच गर्ने कम्पनीको चुक्ता पुँजी २० करोड रूपैयाँ तोकिएको छ।
यसैगरी, मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्यको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रूपैयाँ तोकिएको छ। आफ्नो लागिसमेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागन लगानीकर्ताका रूपमा काम गर्नेको चुक्ता पुँजी भने एक अर्ब ५० करोड रूपैयाँ तोकिएको छ। बोर्ड स्रोतका अनुसार यो प्रणाली बजारमा भित्र्याउनुको मुख्य उदेश्य भनेको सबैलाई समान अवसर दिनु हो।
बोर्डको निर्णयमा लगानीकर्ताको स्वागत
धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्ने धितोपत्र बोर्डको निर्णयलाई लगानीकर्ता संघसंस्थाहरुले स्वागत गरेका छन्। नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णयको स्वागत गरेका हुन्।
लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स, प्राकृतिक व्यक्ति वा संस्थालाई फ्रि इन्ट्री र फ्रि एक्जिटको माध्यमबाट ब्रोकर लाइसेन्स दिनुपर्ने मागलाई सम्बोधन गर्नेगरी नियमावली संशोधन गर्ने निर्णय स्वागतयोग्य भएको बताएका छन्। बोर्डले नियमावली संशोधन गरी उहरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।