काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारको ध्यान आन्तरिक उत्पादन बढाउने भन्दा पनि कसरी हुन्छ राजस्व बढाउने भन्नेतर्फ रहेको बताएका छन्।
परिसंघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले राजस्व संकलनतर्फ सरकार केन्द्रित हुँदा आयातमा उच्च वृद्धि हुने र निर्यातमा गिरावट आउने बताए।
उनले भने, ‘सरकारको ध्यान जहिले पनि उत्पादन कसरी बढाउने भन्दा पनि राजस्व कहाँबाट धेरै संकलन गर्ने भन्नेतर्फ रहेको हुन्छ। यसले गर्दा आयातमा उच्च वृद्धि भएर निर्यात बढ्न सकेको छैन।’ गोल्यानले सरकारले अब उत्पादनमुखिमा लगानी बढाउनुपर्ने बताए।
यसैगरी, सिबिफिनले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा उत्पादन मूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य क्षेत्रमा लगानी हुने कर्जाको ब्याजदरभन्दा ४ प्रतिशत कम हुनुपर्ने माग राखेको छ।
परिसंघले अहिले भइरहेको आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन, उत्पादनमूलक क्षेत्रहरूको विकास एवं विस्तारको लागि कर्जाको ब्याजदरमा सहुलियत दिनुपर्ने माग राखेका हो। आत्मनिर्भर अर्थतन्त्रको निमार्णतर्फ अग्रसर हुनका लागि मौद्रिक नीतिले यस्तो खालको व्यवस्था गर्नुपर्ने परिसंघको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।