डडेल्धुरा–दार्चुलाको व्यास गाउँपालिकामा फेरि तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। व्यास २ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर १७ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन्।
बुधबार भारत उत्तराखण्ड राज्यको धारचुला तहसिलअन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको ठेसो (खम्बा) टुटेर उनी महाकाली नदीमा बेपत्ता भएको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए।
बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन्। बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।
गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।