काठमाडौं– सर्वोच्च अदालतले महान्यायाधीवक्ता खम्बहादुर खातीसँग लिखित जवाफ माग गरेको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले जिल्ला न्यायाधीवक्ता संगिता थोकरले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिमका लागि छलफलमा बोलाएको छ।
एउटा बालिकामाथि भएको भनिएको बलात्कार घटनाको मुद्दा कमजोर बनाउन दिएको दबाब नमान्दा आफ्नो सरुवा गरेको भन्दै सरकारी वकिलले महान्यायाधिवक्ता खातीविरुद्ध सर्वोच्च अदालतमा थोकरले रिट दायर गरेकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा कार्यरत संगीताले सर्वोच्चमा रिट दायर गर्दै आफूमाथि भएको सरुवा रोक्न आदेशको माग गरेकी थिइन्।
सर्वोच्चले अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई लिखित जवाफसहित छलफलमा आउन भनेको छ। बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता खातीले दबाब दिएको थोकरको दाबी थियो। सुरुमा उनले दिएको निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।
सर्वोच्च प्रशासनले दरपिठ गरेपछि उनले इजलासमा निवेदन दिएकी थिइन्। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश गरेको थियो। उक्त आदेशपछि बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।
व्यापारी सुशील चटौतविरुद्ध दर्ता भएको जबरजस्ती करणी मुद्दामा आफू अभियोजनकर्ता भएको र पटक–पटक महान्यायाधिवक्ता कार्यालयबाट मुद्दालाई कमजोर बनाउन दबाब आएको उनले रिटमा जिकिर गरेकी छन्।
उनले महिला विरुद्धका अपराधहरु बढोत्तरी भइरहेको अवस्थामा पीडितलाई बयान फेर्नदेखि सरकारी पक्षलाई मुद्दा कमजोर पार्न दबाब आउने कार्य गलत भएकाले पीडितको संरक्षण गर्न महान्यायाधिवक्ता कार्यालयको नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।