काठमाडौं- सरकारले १०-१५ दिनभित्र राहदानी (पासपोर्ट) पाउने व्यवस्था मिलाइएकोले जिल्लाबाटै सेवा लिन अनुरोध गरेको छ।
विगत तीन महिनादेखि राहदानी विभागमा सेवाग्राहीहरुको संख्या उल्लेख्य रुपमा बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाउँदै जिल्लाबाटै लिन आग्रह गरेको हो।
'काठमाडौं उपत्यका भित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ' विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ', विज्ञप्तिमा भनिएको छ, 'यसर्थ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनुहुन सेवाग्राहीमा अनुरोध छ।'
विभागले विद्युतीय राहदानी प्रणालीमा समयसापेक्ष अद्यावधिक गर्नुका साथै अनलाइन प्रणालीको निरन्तर सुधार गरिरहेको जनाउँदै सार्वजनिक बिदाको दिनमा समेत सेवाग्राहीहरुलाई सेवा दिइरहेको जनाएको छ।
'हाल, दैनिकरुपमा विभागमा आवेदन गर्नेको संख्या करीव २४०० रहेको, राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य इर्मजेन्सी कार्यको लागि गरी दैनिक ५००० भन्दा बढी सेवाग्राहीहरुलाई विभागले सेवा प्रदान गरिरहेको छ। विभागले हाल दैनिकरुपमा ६५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको छ' विभागले जारी गरेको सूचनामा जनाइएको छ। सुरुमा २-३ महिनासम्म लाग्ने सेवा प्रवाहको समय घटाएर हाल १ हप्ताभित्रै सेवा प्राप्त गर्न सक्ने प्रवन्ध मिलाइएको विभागले जनाएको छ।
सेवाग्राहीहरुको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त १ देखि ४ दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि २ कार्यदिनमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाएको विभागले जनाएको छ। सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउन सूचनामा आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।