धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ।
जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएपछि सडक भासिएको हो।
केही दिनअघि परेको सामान्य वर्षाले धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडीदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको स्थानीयले बताएका छन्।
सडक भासिएपछि उक्त सडकमा रहेको कल्भर्ट पनि भत्किने जोखिममा रहेको छ। धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियान क्रममा वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो।
अतिक्रमित भौतिक संरचना हटाउने क्रममा नालामा रहेका ठूला तथा साना रूखहरुसंगै कटान रोक्न बनाइएको तटबन्धन डोजर लगाएर भत्काइएको थियो।
उक्त कल्भर्टलाई संरक्षण गर्न सरकारले लाखौं लगानी गरि बनाएको तटबन्धन डोजर लगाएर भत्काउँदा सडक भासिएको स्थानीयले बताएका छन्।
तीन वर्षअघि कल्भर्ट भासिने जोखिममा बढेपछि उपमहानगरपालिकाले दुई लाख बढी रकम खर्च गरेर तटबन्धन निर्माण गरेको थियोे।
राष्ट्र बैंकदेखि सो कल्भर्ट छेउछाउमा रहेका ठूला रुख, बाँसका झारी र तटबन्धन भत्काएर नालीभित्रै गाडिएको छ। नाला छेउछाउमा रहेका रुख तथा बोटविरुवा कटान गरेपछि एलजी एकेडेमी नजिक रहेको बस्ती कटानको जोखिममा परेको स्थानीय बताउँछन्।
विद्यालय छेउमै बस्तीभित्र पानी नपुगोस भनेर त्यहाँ फोहोर व्यवस्थापन गरिएको थियो। अहिले डोजर लगाएपछि सामान्य वर्षाले पनि उक्त फोहोर नालामै बग्न थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।