काठमाडौं–पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताएका छन्।
शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित ‘संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/०८०को बजेट’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै खतिवडाले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु थपिँदै जाने बताए।
सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको उनको दाबी छ। उनले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले नेपालको कुनै पनि उत्पादनमा प्रतिस्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताए।
पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गरे। आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुँदा धेरै आयात गर्नुपर्ने उनको भनाइ छ। उनले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताए। आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जानेबित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको उनको भनाइ छ। उनले भने, ‘यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ।’
डा. खतिवडाले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधानान्तर घाटा बढ्ने र त्यसो हुँदा पुनः अर्थतन्त्र भयावह हुने भन्दै सरकार अहिले त्यही बिन्दुमा रहेको जिकिर गरे।
सरकारलाई आर्थिक स्थायित्व कायम गर्ने, उच्च आर्थिक वृद्धि गरिहाल्ने र कि त अर्थतन्त्र समाप्त पार्ने तीन वटा मात्रै विकल्प रहेको उनले बताए। अर्थतन्त्र संकटोन्मुख भएकाले सरकार संयम हुनुपर्ने उनले बताए।
पूर्वअर्थमन्त्री खतिवडाले कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरुमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको बताए। तरलता समस्याका विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान र गृहमन्त्रालयले अध्ययन गर्न पनि उनले सुझाव दिए।
रसुवागढी नाकाबाट हुने अनधिकृत व्यापार रोक्न सकेमात्रै पनि वर्षमा ३ खर्बको हुण्डी कारोबार रोकिने उनले बताए। अहिलेको सरकारले हुण्डीलगायत अनधिकृत कारोबारलाई प्रोत्साहन दिएको उनको आरोप छ।
खतिवडाले अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।